रमाइलो माने तास र रक्सी नै हो त ?
– इखालु रमेश
आफैले पैसा तिरेर आफुलाई नै बेचेर दासत्व स्वीकारको बदलामा पाएको अरबको लाहुरेको तक्मा खुब भारी लाग्न थालेको छ मलाई आजकाल । कठोर परिश्रम त्यसमा पनि हप्काई र पेलाईको कुर्कुच्चाले टाउकोमा कुल्चीदा पनि शिरोधार्य गर्नुको बिकल्प छैन ।
अरब जान पाए यसो गर्छु र उसो गर्छु भन्दै मैले तुने बुनेका सपना आकार लिन नपाउँदै तुहेपछि आजकाल म भर्खरै नानीखेर गएको अभागी आमा झै सल्याक सुलुक्क भएर निम्छरो र कमजोर भएको अनुभुती गर्न थालेको छु ।
म सानै छँदा मेरी हजुरआमा भाका हालीहाली मलाई कथा सुनाउँनु हुन्थ्यो । मेरो कलह गर्ने बानिलाई टालटुल गर्दै मलाई फकाउने बहानामा जीवनदर्शनका कथा अनि मार्गनिर्देशक र प्रतिकात्मक कथा भन्न उहाँको समय खर्च हुन्थ्यो । म कहिले सुन्दा सुन्दै अँ अँ अँ गर्दा गर्दै निदाउँथे भने कहिले अन्तसम्म सुनेर पनि यस्तो त हुन्न होला भन्दै आफ्नै लिँडेढिपीमा कस्सिन्थे जित्न खोज्थे । हजुरआमाको केहि नलागेर मेरो नातीराजा नै जान्नेसुन्ने ठुलो मान्छे हो भनेर मेरो जिताली मनलाई उकेरा लाइटोपल्लनु हुन्थ्यो । मलाई याद छ उहाँले सुनाउनु भएको एउटा कथाको कुनै अंश यस्तो थियो । एउटी तरुनी छोरि र बुढी आमा मात्र बस्ने एउटा घरमा भावि जीवन ’bout छलफल हुँदा छोरि भन्छे “आमा मरिहाल्छीन म पोइल गइहाल्छु केलाई चाहियो यो सम्पती ।” यसो भन्दै उस्को आफ्नो भाको श्रीसम्पती सकीयो अन्तमा न त आमा नै मरिन न त उसलाई कसैले लग्यो । बदलामा पाटीको बास र मगन्तेको गाँस भएछ । मेरी हजुरआमाले मलाई सुनाएका कथा भित्रका यी अंश झै भएको छ आज मेरो जिन्दगी पनि । म अरब गएपछि त पैसा नाथे जती पनि कमाइहाल्छु नी अनि त त्यस्ता घरबारी खेत त कति कति !! जहाँ मन लाग्यो त्यहीं घर,गाडी,बंगला भन्ने उल्काइमा लागेर भएको श्रीसम्पती पनि नशा जुवा,तास र जाँड,रक्सीमा खर्चन थालेको थिए म । लगभग सिरीखुरी भएपछि अरबतिर हान्निएको म हिजोआज पश्चातापको ज्वालामा पिल्सीन थालेको छु । हिजोको त्यो साथीभाईका हाइ हाइ मोजमस्ती र रङ्गिन रातहरु आज मलाई बाराम्बार घोचीरहने तुस भई भित्र कतै गाडिएको छ । हिजो मेरो वरिपरी झुम्मिने मेरा आफन्त अनि साथीभाईहरु पनि आजकाल मरेको कुकुरलाई उपिँयाले छाडे झैं मलाई छाडी सकेका छन् । छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेडीको अर्थ आज मलाई छर्लङ्गै भएको छ । बेलामा सुद्धिले बाटो छोडेपछि अहिले भड्खालामा सुक्सुकाउनुको विकल्प छैन मेरो लागि । मनोराजन र वास्तविक जीवनको मजा भनेकै जुवातास र जाँडरक्सीको नशामा लिप्त भएर डिस्को,दोहोरी र क्याविनमा रात गुजार्नु अनि नगरबधुका छातीमा नोट घुसारदै कामुक बन्नु हो भन्दै उल्क्याउनेहरुको कुरामा निर्धक्क भएर हो मा हो मिलाउँदै गएँ । घरमा आफ्ना सन्तानका निम्ति बा-आमाले आफ्नो आँत मारेर बचाएको सम्पती सिरीखुरी पार्दै गएँ । बा-आमाका आँशुले नकजिएको छोरो श्रीमतीको कजाईमा पर्छ की भनेर बा-आमाले भित्र्याई दिएकी श्रीमतीका नाक र कान केहि भनिन एक एक गर्दै लुछ्दै गएँ । यी सबै कि्रयाकलाप म मनोराजनका निम्ति र वास्तविक जीवनको मजाका निम्ति गरिरहेको थिएँ । मेरो कुमतीको शुरुवातीका ताका मेरा साथीभाईले कर गरि गरि जाँड रक्सी खुवाएको र हातमा समाई समाई जुवातास सिकाएको क्षण म आफु ठुलो मान्छे बन्न गइरहेको आभाष गर्दै आफ्नो नाक जालो पसेको घिरौला जत्रो बनाएको थिएँ । यी सबै कि्रयाकलापको परिणाम आज भएको सिरीखुरीमा पनि अरुकै अधिन नर-नाताआफन्त र साथीभाईसँगको तिक्तता अनि दासत्वपूर्ण प्रवासी जीवन बनेको छ । भनेको बेलामा न त फर्कन नै सकिन्छ । फर्कन पाईहाले पनि सिरीखुरी भईसकेको अवस्थामा अब कहाँ जाने भन्ने समस्याले गाँजेको छ । मेरो सुन्दर शान्त र ममतामयी जीवनमा संहारी सुनामी पसीसकेको छ । आज त्यो सुनामी भित्र हराएर मेरो परिवार अस्तव्यस्त भइसकेको छ । म भुक्तभोगी नशाभोगी र जुँवाडेको तक्मा भिरेर एक्लो बनि सकेको छु ।
अहिले अनेक हण्डर ठक्करको भोगाईले मेरो सुद्धीमा केहि हदसम्म भएपनि चेतनाको घाम पसेको छ । अनि मैले हिजो हिँडेको बाटो अनि अंगालेको जीवनशैली अत्यन्तै बिनासकारी थियो भन्ने पनि मनमा अंकुराइ सकेको छ । हतारको निर्णयले निम्त्याएको यो कष्टकर क्षणमा पश्चातापको भुँमरीमा रुमल्लिँदै भएपनि यथार्थता अठ्याउँने प्रयासमा छु । मैले आज बुझि सकेको छु क्षणिक उत्तेजनामा उम्लिएर जाँडरक्सीजुवातासको कुलतमा होमीनु भनेको आफ्नो जीवनमा डढेलो लगाउनु हो । मलाई भन्न मन लाग्छ ए ! साथी हो रमाइलो माने जुवातास र रक्सी होइन । यो जीवनघातक तत्व हो । यसलाई परित्याग गर्नु नै बेस हुन्छ । तर अँ ! हँ ! हिजोको मेरो जस्तै उनिहरुको लहड र अहमताका अगाडि म मुख खोल्नै सक्तिन । कारण अर्को पनि छ । कुनैबेला मैले यहि कुरा दोहोर्याउँदा मेरो जीवन भनेको मेरो खेतवारी हो । यसमा म धान लगाउँकी मकै लगाउँकी या त बाँझै राखौं तलाई के को चासो तँ आफ्नो बाटो लाग ! कुमतीले घेरेको अनुहारमा टाँसीएका क्रुद्ध दृष्टि फाल्दै ती भलाद्मी म माथि आईलागेका थिए । म भने भिरमा जाने गाईलाई राम राम भन्न सकिन्छ तर काँध नै हाल्न भने सकिन्न नी भन्दै न्याउँरो मुख बनाएर बाटो तताएको थिएँ । उनिहरु नतमस्तक भएर तास र रक्सीमा लिप्त थिए । उनिहरुको कुहिगन्धे दिमागमा रमाइलो र मनोराजन भनेको रक्सी र तास मात्र हो भन्ने छ । के रमाइलो माने तास र रक्सी नै हो त यो प्रश्न तपाईलाई गर्दै म भने ओझेल पर्छु ।
सुझावको कुनो